आठ हजार ज्येष्ठ नागरिकलाई खोप

दमाौली । चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फागुन २३ गतेदेखि २७ गतेसम्म व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।

व्यास नगरपालिकाका दुई हजार सात सय ९९, भानु नगरपालिकाका दुई हजार तीन सय ९४, देवघाट गाउँपालिकाका एक हजार ७२, आँबुखैरेनी गाउँपालिकाका आठ सय ७७ र बन्दीपुर गाउँपालिकाका नौ सय तीन ज्येष्ठ नागरिकलाई खोप लगाइएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

फागुन २८ गतेदेखि शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका ज्येष्ठ नागरिकलाई खोप लगाइनेछ । यस अवधिमा १५ हजार भन्दा बढी नागरिकलाई कोभिड विरुद्धको खोप लगाइँदैछ । खोप लगाउनका लागि जिल्लाका दशवटै पालिकामा ९४ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियान सञ्चालनका लागि २ सय ६६ स्वास्थ्यकर्मी र ४ सय २५ स्वयंसेवक परिचालन गरिएको छ ।

Advertisment