एघार महिने शिशुमा कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलो पटक ११ महिने शिशुमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।

शिशुलाई ३५ वर्षीय बाबुले कलेजो दान गर्नुभएको हो । अहिले प्रत्यारोपण गर्ने शिशु र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य छ । वरिष्ठ प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार अहिले शिशु र कलेजो दिने बाबुलाई आईसीयूमा राखिएको छ ।

भण्डारीले गोरखापत्रलाई दिनुभएको जानकारीअनुसार भण्डारीको नेतृत्वमा ६० जनाको टोलीले कलेजोको प्रत्यारोपण गरेको हो । टोलीमा २५ जना चिकित्सक हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक शिशुको सफल कलेजो प्रत्यारोपण भएको हो । सुरुमा शिक्षण अस्पतालमा शिशु लगिएकोमा नेपालमा सम्भव नहुने भन्दै भारतमा मात्र उपचार हुनसक्ने बताइएको थियो ।

भारत रिफर गर्दा आर्थिक व्यवस्थापनको क्रममा प्रधानमन्त्री ओलीकहाँ कलेजो प्रत्यारोपणको विषय पुगेपछि ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीलाई शिशुको कलेजो प्रत्यारोपण नेपालमा सम्भव भएसम्म व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । अर्थ सङ्कलनका क्रममा शिशुका आफन्त प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको भण्डारीले जानकारी दिनुभयो । काभ्रेका एघार महिनाको बालकलाई शनिबार १ बजेदेखि शल्यक्रिया सुरु गरेर राति ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा संलग्न प्रत्यारोपणविद् डा. भण्डारीले आठ घण्टा लगाएर शिशुको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले शिशुमा जन्मजात कलेजोमा समस्या रहेको जानकारी दिनुभयो ।आफ्नो शिशुमा कलेजो प्रत्यारोपणका लागि विदेशमा उपचारको व्यवस्था मिलाइदिन आफन्तले बारम्बार प्रधानमन्त्री ओलीलाई आग्रह गरेका र प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा प्रभावकारी उपचार रहेको विश्वास दिलाएपछि ती शिशुको कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिनुभयो । आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ ।

Advertisment