बाघ नियन्त्रण गर्न काठमाडौंबाट प्राविधिक टोली आउँदै, थप हात्ती परिचालन

बाँकेको राप्तीसोनारीमा बाघको आतंक अत्याधिक बढेर दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरु एक भएर नियन्त्रण अभियानमा लागेका छन् ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभएको छ ।

उहाँले संघीय वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायसँग समन्वय गरेर बाघ नियन्त्रणको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरुप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताउनुभयो ।

उहाँका अनुसार सो टोलीले नेपालगञ्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गर्नेछ ।
स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रशारण गरेर स्थानीय बासिन्दालाई जंगलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, बाँके निकुञ्जले पनि राप्तीसोनारीमा बाघ धपाउन थप हात्ती र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यसअघि पनि दुई वटा हात्तीलाई निकुञ्जले पठाएको थियो ।

दुई दिनमै बाघले राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अत्याधिक त्रसित भएका छन् । राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो ।  जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उहाँहरुलाई बाघले मारेको हो ।

योसहित बाँकेमा तीन महिनाको अवधिभित्र बाघले चार जनाको ज्यान लिइसकेको छ । विभिन्न कामले जंगलमा गएका स्थानीय बासिन्दा र पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ ।

Soruce Gorkhapatra –सिराज खान

Advertisment