नेपालले मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्ने

सन् २०२२ को कतार विश्वकप छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रमुख प्रशिक्षक योहान कालिनले ४२ सदस्यीय नेपाली टोलीलाई प्रशिक्षण सुरु गरेका हुन् । विश्वकप छनोट तयारीस्वरुप नेपालले आगामी जुन २ तारिकमा मलेसिया र ६ तारिकमा चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले यसअघि नै चाइनिज ताइपेईसँग जुन ६ मा खेल्ने पक्का गरे पनि मलेसियासँगको मैत्रीपूर्ण खेल मंगलबार मात्र तय भएको एन्फाले जनाएको छ। मलेसियासँगको यसअघिको १ अप्रिल २०१८ मा एक मैत्रीपूर्ण खेल रद्ध भएको थियो। रद्ध भएको खेललाई निरन्तरता दिन मलेसिया फुटबल एशोसिएसनले एन्फालाई अनुरोध गरेको हो । सोही अनुरुप मलेसियासँगको खेल तय भएको थियो ।

फिफा वरियतामा १६१औं वरियतामा रहेको नेपाल भन्दा ताइपेइ ३६ स्थानमाथि छ भने मलेसिया ६ स्थान तल छ । मैत्रीपूर्ण खेल सन २०२२ को विश्वकप दोस्रो चरण छनोट तथा सन २०२३ को एएफसी एसियन कपको छनोटको तयारीको रुपमा समेत लिइएको छ।

Advertisment