पश्चिमी वायुले वर्षा र हिमपात

काठमाडौँ, पुस १९ गते । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा बदलीसहित वर्षा र हिमपात सुरु भएको छ ।

आइतबारदेखि सुरु भई बुधबारसम्म रहने यो मौसम बदलीका कारण बादल लाग्ने, कतै पानी पर्ने र उच्च क्षेत्रमा हिउँ पर्ने क्रम सुरु भएको छ । पश्चिमी वायुका कारण विकसित न्यूनचापीय प्रणाली नेपाल नजिक रहेकाले बुधबारसम्म देशभर बदलीसहित केही भेगमा हल्का वर्षा हुने मौसम विज्ञान विभागले जनाएको हो । देशभर चिसो बढ्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिलेको बदलीका कारण हिमाली भेगमा हिमपातसमेत हुने भएकाले पनि चिसो बढ्ने उच्च सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।आइतबार महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पहाडी र तराईका थोरै भूभागमा हल्का वर्षा हुने जनाइएको छ ।

बागमती, प्रदेश २ र प्रदेश १ का धरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । मौसम बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेको जनाइएको छ ।चिसो बढेसँगै तराईमा शीतलहरको चाप बढ्ने भएको छ । पश्चिम तराईका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासीमा शीतलहरको सम्भावना रहेको छ ।

मध्य तराईको चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र पूर्वी तराईको सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा पनि शीतलहर बढ्नसक्ने अनुमान गरिएको छ । तयारीमा बस्न प्रजिअलाई निर्देशन चिसो बढ्दै जाँदा आम नागरिकलाई चिसोबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ७७ जिल्लामा परिपत्र गरेको छ । आगामी तीन दिन चिसो अत्यधिक हुने आँकलन गर्दै त्यसका लागि प्रतिकार्य योजना बनाएर प्राधिकरणले काम थालेको छ । “गरिब, अति विपन्न वर्गलाई दाउरा तथा न्यानो कपडा तत्काल वितरण गर्न निर्देशन दिइएको छ”, प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले भन्नुभयो ।

हिमाली, पहाडी तथा तराईका जिल्लामा जता समस्या पर्छ त्यतै सहयोगका लागि समेत तयार रहन परिपत्रमार्फत हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई सतर्क गराइएको छ । चिसोजन्य विपद् व्यवस्थापनका लागि आवश्यक बजेट जिल्लास्थित विपद् व्यवस्थापन समितिले व्यवस्थापन गर्ने र नपुग रकम प्राधिकरणमार्फत भरथेगका लागि पहल गर्ने दोहोरो व्यवस्था मिलाइएको गौतमले बताउनुभयो । यसैबीच हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ ।

आइतबार बिहानैदेखि मौसममा बदली भए पनि सदरमुकाम सिमकोटमा बेलुकादेखि हिमपात सुरु भएको हो ।शनिबार बिहानदेखि यस क्षेत्रको मौसममा फेरबदल आए पनि सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा आइतबारदेखि हिमपात हुँदा चिसो अत्यधिक बढेको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताउनुभयो । यस वर्ष हुम्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो ।

हुम्लाका नाम्खा, नारा, न्यालु तथा अन्य लेकसहित उच्च क्षेत्रमा बिहानदेखि नै हिमपात भइरहेको हिल्सा सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज सुरज केसीले जानकारी दिनुभयो । यहाँ चिसो अत्यधिक बढेका कारण मानिस घरबाहिर निस्कन समस्या भएको केसीले जानकारी दिनुभयो । हिमपात हुँदा तापक्रम माइनस सात डिग्रीमा झरेकाले जनजीवन कष्टकर बनेको छ

आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ । 

Advertisment