खोई… घाँसी ?

रविकुमार श्रेष्ठ

संस्कृतबाट नेपालीमा रामायण उल्था गर्ने पहिलो कवि,लेखक र उल्थाकार भानुभक्त र उनले भेटेका घाँसी उत्तिकै सान्दर्भिक छन् अहिले, तर आज दुबै गायब छन् । भानुको भाव र घाँसीको कर्म खोई ? भेट्न मुश्किल छ । भानुले घाँसी चिनाए । घाँसीले आदिकवि बनायो । ती घाँसी जो गरीब दिनहीन छ । तर भाव सगरमाथा जस्तै उच्च छ । जन्मभर घाँसै बेचेर जीवन गुजारे, पछिसम्म नाम रहोस् भन्नाका लागि कुवा बनाए । यहि माटोमा जन्मी हुर्केका यी दुईका भाव र कर्म सिञ्चित तनहुँसुर वरिपरिको माटोमा त्यो सुगन्ध सुँघ्न र चाख्न मन लाग्छ तर दुर्भाग्य दुबै गुमाएर हातलाग्यो सुन्यको अवस्थामा छौं ।

भानुको गाउँ चुँदीरम्घा

दीनदरिद्रभित्रको महान सेवाभाव देखेर लज्जित महशुश गरे भानुले । सेवाको भाव हुँदाखाँदाको हैन, घाँस बेचेर गुजारा गर्नेको मनमा उदाएको देख्दा घाँसीको मन र कर्मबाट उनै धनिमानी भानु लज्जित भए । पढेलेखको हुनेखानेको कित्तामा आफूलाई उभ्याएर घाँसीसँग तुलना गरे । दरिद्र घाँसीभित्रको उच्च भावका अघिल्तिर आफूलाई पुड्को, होचो भेट्टाए । हीनताबोध महशुश गरे । सायद आफैलाई धिक्कारे । भने–म भानुभक्त भइकन आज यस्तो । जीवन बाँच्नुको अर्थ घाँसीसँग थियो । कृति राख्नुपर्छ । त्यस्तो जो सदा बाँची रहोस् । घाँसीको त्यो दृष्टिकोण चिन्तन, लगाव र कर्म देखेर भानुका आँखा उघ्रियो । घाँसीबाटै प्रेरणा लिए । उनको जीवन र भिजन कवितामा गुथे । र जगतलाई सुनाए । उल्था गरे संस्कृत भाषाको रामायण हरेक नेपालीको मुखमुखमा कण्ठस्थ हुनेगरी नेपाली भाषामा । जनजनको प्रिय भएर कृति राख्न सक्षम भए । आदिकविको परिचयमा बाँचीरहेका छन् भानु आज ।

घाँसीको कुवा

भानुको परिचय अधुरो हुन्छ, घाँसी छुटायो भने । यहाँनेर भन्न मन लाग्छ, यी दुबैको परिचय अधुरो हुन्छ तनहुँसुरको चुचुरो छुटायो भने । तनहुँसुरको गढीमा विहानीको झिसमिसेमा उभिंदा पूर्वतिरको क्षीतिज उधिन्दै सूर्यले फालेका पिताम्बर प्रकाशले सेता हिमाल पोतिरहँदा चुँदीरम्घाको अघिल्तिरै चुलिएको तनहुँसुरलाई सूर्यका किरणले नुहाइरहेको देख्थे भानु । त्यतिखेर उनको भाव उद्वेलित नहुने कुरै भएन ।
तनहुँसुरबाट पूर्व दिशा हेर्दा आफ्नै नाक हेरेझैं देखिन्छ चुँदीरम्घा । रम्घा आफै चुँदी फाँटबाट अग्लो ठाउँमा छ । तर रम्घाको लागि अग्लो पर्वत हो तनहुँसुर । उँचो जीवन बाँच्न चाहनेहरूका लागि अग्ला पर्वत आदर्श बन्न सक्छन् । त्यो पर्वत झैं अग्लो बन्ने उत्साह उम्रिन सक्छ मनमा । बुझिहाल्नु भयो, भन्नैपर्छ भानुको कल्पानाशिल मन, कवि हृदय तनहुँुसुरले बनायो । अग्लो चुचुरोमाथि हरबखत आँखा अल्झिरहँदा अग्लो बन्ने भावुक मन भानुको बनेन होला र ? अघिल्लो लेखमा दावी गरेको थिएँ पाँच वर्षको उमेरसम्म तनुहँुसुरमा बढेहुर्केका पृथ्वीनारायण शाहको विजेता व्यक्तित्व तनहुँसुरले बनायो । त्यस्तै धनन्जयका छोरा भानुको कलम तनहुँसुरको चुचुरोको धारले तिखार्यो । चँुदीरम्घासँग साँझविहान आँखा ठोक्कीरहने डाँडो हो तनहुुँसुर । आजभन्दा २०७ वर्षअघि भानुले आँखा उर्घादा पहिलो साक्षात्कार तनहुँसुरसँग गरे । १५३ वर्षअघि आँखा बन्द गर्दा पनि उनी तनहुँसुरसँगै थिए । ५४ वर्ष छोटो जीवनमा उनको संस्कृत उल्था रामायण हरेक घरमा घन्कियो ।

तनहुँुुसर गढीबाट हेर्दा किरणका रंगहरु खेल्दै

हो म घाँसीको कर्म र भानुको भाव तनहुँसुरसँग जोड्न खोज्दै छु । किनकि तनहुँसुरका दुई आँखा हुन्् भानु र घाँसी । उषासँगै दिनभर भानुको आँगनमा खेल्छु र मध्यान्हपछि घाँसीको घरतिर लाग्छु । भानुसँग दिनभरि खेल्दाकोे थकाइ रातमा घाँसीको काखमा मस्त निदाउँछु । जुन रंगमा भानु उदाउँछ पूर्वबाट, त्यहि रंगमा अस्त हुन्छ पश्चिम दिशा घाँसीको घरछेउछाउबाट । घाँसीको गाउँ कुन थियो त्यो त थाहा भएन तर घाँसीको कुवा भने भानुको घरदेखि टाढै छ । हिँडे होलान् भानु कुनै दिन चुँदी तरेर लादीखोला हुँदै भगवतीथान त्यहाँबाट ओर्ले बर्दन । देब्रेतिर रामथुम्की डाँडो मुलपानी बर्दन खोला हुँदै पोल्याङतिर त्यतै वरिपरि भेटेहुन घाँसी ।
घाँसीकुवा । पछिसम्म नाम रहोस् भनी घाँसीले खनाएको कुवा, पृथ्वी राजमार्गको डुम्रे दमौली सडक खण्डबीच दमौली पुग्नु तीन किलोमिटरअघि सडक किनारमा पर्छ । घाँसीकुवाबाट तनहुँसुर छर्लङ्गै देखिन्छ । र तनहुँुसुरसम्मको यात्रा यहिँबाट सुरु हुन्छ । त्यसो त डुम्रेबाट भन्सार हुँदै भानुकै आँगनै आँगन पनि तनहुँसुर पुगिन्छ । बसस्टपको रुपमा यतिखेर घाँसीकुवालाई चिनिन्छ । पहिला त सडकदेखि दक्षिणतिर थियो कुवा अहिलेचाहिँ उत्तरतिर नयाँ निर्माण गरिएको छ । यतिवेला घाँसी सँगै छन् भानु पनि ।

तनहुँसुर गढीबाट हेर्दा भानुको गाउँतिरबाट उदाउँदै गरेको सूर्य

भानु र घाँसीको कर्म र भाव कति शुद्ध थियो भन्ने सयौं वर्ष हामीबीच बाँच्न सफल उदाहरणले पुष्टि गरेको छ । घाँसीबाट शिक्षा लिएर जो नाम कमाउन भानु लागे । घाँसी उनको प्रेरणा स्रोत बन्यो । र भानुले त्यो उचाईं छोए । प्रेरणा लिने मन र प्रेरणा दिने कर्म तनहुँको माटोले सिकाएको छ । त्यो किन नखोज्ने ? त्यहि खोज्दा नभेटेको गुनासो लेखको सुरुमा उठाएको हुँ । अब मुख्य विन्दूमा प्रवेश गरौं ।
समाज रुपान्तरण गर्न, जेलनेल,मृत्युसँग नडराइ सपथ खाएका सहयोद्धाहरूको सिंगौरीले तनहुँको बालिनाली छिन्नभिन्न बनायो । खपतको लागि राजनीति पनि भन्ने गर्छन् तर त्यसलाई राजनीति कसरी भन्ने ? बरु रातनीति, सिध्याउनीति, दवाउनीति सरापनीति जस्तो पो देखियो । एकले अर्कोलाई सराप्नु र दवाउनुमा रमाए नेतृत्वदायी भूमिका रोजेका र पाएकाहरू । तनुहँका सपनाहरू यसरी विभाजित भए । एक अर्कालाई निमिट्यान्न पार्नमा तल्लिन छन् । यद्यपि सपना हुन हाम्रा प्रतिनिधि । उनीहरूले हामीलाई सिकाए घृणा, तिरस्कार, अहंकार, एकअर्काको अस्तित्व नामेट पार्ने शिक्षा । यो भोगाइ तनहुँवासीले एक दिन भोगेका होइनन् अब तीसौं वर्ष पुगिसक्यो । अब मैले कहाँ भेट्नु भानु र घाँसीको सुगन्ध ? हाम्रा सपनाहरूको ठेक्का यिनीहरूकै हातमा थियो । भानु र घाँसीको बास्ना छर्न सक्थे । तर आपसी घृणाको खेलले समाजलाई विभाजित बनाइ राख्यो । समाज विभाजित भएर पौडी रह्यो । यिनीहरूलाई धित मरेको छैन तमासा देखाउन । तालिबजाइ रहेका छन् । एकले अर्कोलाई सिध्याउने अहंकारको आगोबाट पीडित छन् घाँसी र भानुहरू । एउटै सिद्धान्त, नीति र नेता मान्नेहरूबीच देखिएका व्यक्तिगत मतभेद एकअर्कामाथि गरिने आरोपप्रत्यारोपबाट प्रेरणा र प्रगतिको कल्पना गर्न सकिएला र ? तँ फलानाको मान्छे तँ फलानाको एकअर्कावीच वैमनश्य,विद्वेष निर्माण गर्दै घाँसीकुवाको बाटो ओहोरदोहोर गर्दै छौं । भानु र घाँसीको मन र भावलाई लत्याउँदै ।
भानु र घाँसीको जस्तो भाव र कर्मको संयोजन आफ्नो जीवनमा खोज्नु हुन्छ भने । पछिसम्म बाँचीरहने कृति छाडेर जाने भाव छ भने, आफ्नो इतिहास पछि आउने पुस्तालाई पढाउनु छ भने जहाँ पायो त्यहिँ बसेर हुँदैन । त्यो मन त्यो पृष्ठभूमि आफूभित्र सुदढ र ढिक्का बनाउन तपाईले तनहुँसुरको गढी रोज्नै पर्छ । तनहुँसुरको गढीहरूमा उभिदा मात्र पनि तपाईंको अंहकारको अन्त्य हुन्छ ।

तनहुँसुरबाट घाँसीको गाउँतिर अस्ताउँदै गरेको सूर्य

भानु र घाँसी आँखाका दुई नानी हुन् । भानु मात्र खोज्न रम्घातिर लाग्नुभयो भने घाँसी छुट्छ । घाँसी खोज्न घाँसीकुवातिर लाग्नु भयो भने भानु छुट्छ । दुबैका भाव र कर्मलाई मनमा फेट्न दुबैलाई एकैचोटि हेर्नु जरुरी छ । त्यसो भए त्यस्तो गन्तव्य तनहुँसुरबाहेक अन्त सम्भव छैन । तनहुँसुरको गढीमा उभिनुस घाँसी र भानु दुबैलाई एकैपटक मनमा समाउन सक्नु हुन्छ । एकै ठाउँमा भेट्नुहुन्छ । दाहिने आँखाले भानुको घर र देब्रे आँखाले घाँसीको कुवा । त्यतिखेर भन्नु हुने छ म पनि यो धर्तिमा कुनै कृति छाडेर जाउँ जो अजम्मरी होस् ।
(लेखक स्वतन्त्र पत्रकार हुन् )
तस्वीर : पदमजंग थापा

Advertisment