कोरोनाकाल जनतालाई अनिकाल, भ्रष्टाचारी र बिचौलियालाई भने मालामाल !

काकडभित्ता सीमानाकाको स्थलगत अनुभव:

Photo: parvezish.com

जेठो भाई स्यामको बिवाहको लागि बुवा आमा भारतको आसामवाट गत बैशाखमा काठमाण्डौं आउनुभएको करिव दुई महिना भैसकेको थियो । सानो भाई भारतीय सेनामा कार्यरत रहेको, उसको नँया पोष्टिङ् पञ्जावको भटिण्डावाट हैदरावाद भएको र ४० दिने छुट्टी समेत स्वीकृत भएकोमा आसाममा बसोवास गर्ने बुवा आमालाई नेपाल-भारतको सीमाना, झापाको काकडभित्तावाट लैजाने सल्लाह भएपश्चात म, स्याम र मेरा वुवा-आमालाई साथै राखी मेरा श्रीमानले पास मिलाईवरी यही जेठ ४ गते काकडभित्ता पुर्यानुभयो । नेपाल र भारत, दुबै देशमा कोरोना महामारीको कारणले निषेधाज्ञा कार्यान्वयनमा रहेपनि अत्यावश्यक कामको लागि सीमानाकावाट नेपाली र भारतीय ओहोर-दोहोर गरिरहेकै रहेछन् । काठमाण्डौंवाट झापासम्म पुग्दा र फर्किदा लाग्यो झापा लगायत तराईका जिल्लाहरू सबै खुल्ला छन् । मास्क, दुरी, सरसफाई वा निषेधाज्ञा, यी मध्ये कुनैपनि कुराको खास पालना भएको अनुभूति भएन, मानौं, कोरोना पनि निस्तेज भैसकेको जस्तो । तरपनि हामीले हदैसम्मको सतर्कता अपनाई आफ्नै सवारीमा रात कटायौं ।

बिहान करिव ४ बजे हामी गन्तब्यमा पुगी पनि सीमानाका बिहान ७:०० बजेदेखिमात्रै खुल्ने थाहा पाएपछि हामी बसपार्कको कुर्सीमा बसिरह्यौं। यत्तिकैमा सात बजेसम्मको करिव ३ घण्टामा करिव १०/१२ जनाजतिले हाम्रो प्रयोजन सोधे र हामीले पनि जिज्ञासु पाराले सवाल जवाफ गर्यौं । कोरोनाको पिसिआर टेष्ट बिना सीमा पार गर्न नेपाली र भारतीय सुरक्षाकर्मी, दुबैले नदिने भन्ने जानकारी दिंदा केहीले त नक्कली पिसिआर रिपोर्टको लागि “अफर” सम्म गर्न भ्याए।

बिहान ६ बज्दा बुवाले चिया खाने भनेपछि नजिकै खुल्ला रहेको होटलमा गई चिया अर्डर मात्र के गरेको थिएँ, पिसिआर रिपोर्ट नभएको चाल पाएपछि मेरो लागि चिया पकाउँदै गर्दा होटल सञ्चालक दिदीले “भोली बिहानै तीनबजे बोर्डर क्रस गराउने मान्छे मैले चिनेकी छु, पैसा कति लिन्छ, मलाई थाहा भएन, तर म उसलाई बोलाउन सक्छु, चाहिएमा कुरा गर्नु न” भनेर विकल्प प्रस्तुत गर्नुभयो । म झन तीनछक्क परें । बोर्डर खुलेपछि नियमानुसार नै गरौंला नि भनेर कुरेर हामी बस्यौं ।

करिव ४/५ बर्षपहिले यसरी सीमामा पुग्दा रिक्साले पानीट्यांकीसम्म केही रकम लिएर यात्रुहरू निर्वाध ओसार-पसार गर्ने, नेपालपट्टीका होटलहरूले भारतीय मुद्रा सटही गरिदिने, सवारी बुकिङ् गरी सिधै पानिट्यांकी हुँदै सिलिगुढीसम्म पनि पुर्याईदिने तथा भारतका धेरै शहरहरूमा सिधा बस, रेल र हवाईजहाजको टिकटसमेत काट्न सहयोग गर्ने गर्दथे भने नेपालपट्टीको बाटो (पुल वारी) अत्यन्तै बिजोग समेत थियो । तर भारतीय सरकारको रू १०३ करोडको लागतमा हाल १५०० मिटरको चौडा सडक, चेकपोष्ट, स्वास्थ्य र सुरक्षा संरचना लगायतका सीमा पूर्वाधार बनेकोमा शुरूमा त निकै खुसी पनि लाग्यो ।

बिहानको सात बजे मेरो भाई रामले पारीपट्टी वेस्ट बेंगालको पानी ट्यांकीमा पास सहितको सवारी तैनाथ गरेको खवर पाएपछि बुवा-आमालाई लिएर म नेपाल पट्टीको प्रथम चौकीमा पुगें । नेपालपट्टी साधारण निलो पाल मुनी नेपाल प्रहरीको असईको कमाण्डमा तीनजना जति प्रहरी कर्मचारीहरू आवागमन सहजीकरणका लागि तैनाथ थिए भने बिभिन्न सपना बोकेका केही हुल मान्छेहरू आफ्नो कागजात देखाई भारत जान स्वीकृतिको लागि अनुरोध गर्दै थिए । नेपाल प्रहरीका ती कर्मचारीको रुखो व्यवहारले मेरो पनि मनमा केही चिसो त पहिले नै पसिसकेको थियो तर बुवा-आमालाई पठाउने काम अनिवार्य भएकोले मैले अत्यन्तै बिनम्र भई अनुरोध गरें । पिसिआर रिपोर्ट विना पारी जान नदिने अडान कसेपछि मेरा श्रीमानले पुन: ती प्रहरीलाई अनुरोध गर्दै गर्दा एकजना मेहता थरका कालो टिसर्ट लगाएका प्रहरी जवान मोटरसाईकलमा भारतीय सीमानावाट आई “अव त पिसिआर रिपोर्ट नै भएपनि भारत जान नमिल्ने भयो, उता त जुलाईसम्म कडा लकडाउन थपियो, भर्खरै खबर आयो, तपाईहरू जँहावाट आउनुभएको हो, उतै फिर्ता जानुस” भनेर उर्दी जारी गरे । केही हुल मान्छेवीच एकजना बृद्धा धरानवाट बागडोरा एयरपोर्टमार्फत उड्ने टिकट काटेर पिसिआर रिपोर्टसमेत ल्याई आउनुभएको रहेछ, पारी जान नदिने भएपछि बसेर रुन थाल्नुभयो ।

प्राय मलिन अनुहार बोकेका गरिब र असहाय नेपाली दाजुभाई दिदिबहिनीहरूले अनेक बिलौना गर्दा पनि केही सिप नलागेपछि हामी सबै मिलेर निज असईको बरिष्ठतम् अधिकृतसँग कुरा नगरी नजाने अड्डी कस्दै थियौं, संयोगले भन्नुपर्छ, ती त्यहाँ टुप्लुक्क आईपुगे । हामीले समस्याको बेलीबिस्तार लगाएपछि उनको निर्देशनमा पिसिआर रिपोर्ट भएका र अत्यावश्यक काम भएकाहरूलाई पारीपट्टी पठाइयो भने मेरो बुवाको हकमा कँहीवाट पनि एण्टिजेन टेष्ट वा पिसिआरको रिपोर्ट ल्याएर आउन अनुरोध गरियो।

हामी फर्किएर बसपार्कछेऊमा पुग्दा नपुग्दै करिब आधा दर्जन मान्छे (बिचौलिया) ले चाहिएमा जस्तोसुकै पिसिआर वा एण्टिजेन टेष्ट रिपोर्ट (जाँचै नगरी) तुरुन्तै बनाईदिने, पारीपट्टीपनि सजिलै पुर्याईदिने वा पारीवाट आएकाहरूका लागि नेपालको कुनैपनि ठाँउमा सजिलै पुर्याईदिने धेरै “अफरहरू” गरे ।

हामीसँग आफ्नै सवारी पनि भएको र नियमानुसार नै गर्ने निधो गरेपछि करिव १६ कि.मि. टाढा रहेको बि.एण्ड.सि. अस्पताल, बिर्तामोड पुगेर बुवाको रू १७ सय तिरेर एण्टिजेन टेष्ट गरायौं ।

बि.एण्ड.सि. अस्पताल, बिर्तामोडबारे धेरै सुनेका पनि थियौं, अत्यन्तै महंगो शुल्क छ भन्ने पनि सुनेका थियौं, तर एण्टिजेन टेष्टको नै १७ सय लिएपछि हामीपनि बि.एण्ड.सि. अस्पताल, बिर्तामोडवाट ठगियौं, बाध्यताले ।

फर्केर पुन: सीमानाकामा पुगेपछि हाम्रा कागजात हेरेपछि पारी जाने अनुमति त दिईयो तर बुवाको झोला बोकेर पारीपट्टी सम्म पुगी फर्किदा भाई स्यामलाई नेपाल र भारत, दुबैपट्टीका सुरक्षाकर्मीहरूले कति रुपैंयामा एण्टिजेन टेष्ट गर्नुभयो भनी पाँच ठाँउभन्दा बढीमा सोधेपछि हामीले पनि उनीहरूको बिचौलियासँगको साठगाँठको लख काट्यौं। कुरा त्यत्तिमा नै कँहा सकियो र? पहिल्यै भनेको भए हामीले पन्ध्र सयमै मिलाईदिन्थ्यौं नि भन्ने मान्छैपनि भेटियो । मान्छेलाई तर्साउने, अत्याउने र अप्ठ्यारोमा पारेपछि बिवसताले मान्छे सजिलै बिचौलियाको जालमा पर्ने र यसवाट सीमानाका दुबैपट्टीका सुरक्षाकर्मीहरूलाई समेत पोषण मिल्ने हामीले सोझै अनुमान लगायौं ।

अर्को तिर मैले नेपाल प्रहरीका कर्मचारीहरूलाई “के तपाईहरूले पनि पारीवाट आउने भारतीय वा नेपाली नागरिकहरूलाई कोरोना संक्रमण नफैलियोस भनेर सतर्कता अपनाउने, टेष्ट गर्ने वा कागजात नभए उतै (भारत तिर) फिर्ता पठाउने गर्नुभएको छ त?” भनेर जिज्ञासा राखें । प्रतिउत्तरमा हामीले यी सबै कुरा गरेका छौं भन्ने जवाफ त आयो । तर सीमानाकामा करिव आठ घण्टा बस्दा नेपालवाट भारत जाने भन्दा उतावाट दशौं गुणा बढी संख्यामा मान्छेहरू नेपाल निर्वाध प्रवेश गरेको प्रत्यक्ष देख्यौं । न त उनीहरूसँग पिसिआर रिपोर्ट नै थियो, न त अघी भनिएझै चेकिङ् । केहीलाई मैले सोध्दा “पैसा दिएपछि चेकिङ् न सेकिङ्, केही गर्दैनन्” भन्ने जवाफ आयो । हाम्रो बसाईकै क्रममा नेपाल प्रहरीले सीमानाकावाट नेपाल भित्रिने नेपालीहरूलाई गन्तब्यसम्म पुर्याउने व्यवस्थाका लागि केही थान बस व्यवस्थापन गरेको त देख्यौं नै, तर त्यो भन्दा बढी संख्यामा विचौलियाहरूले साना ठूला सवारीहरू पास बिना निर्वाध दौडाएर चर्को भाडा असुली गर्दै ब्रम्हलुट मच्चाएको पनि देख्यौं ।

जे होस, यो कोरोनाकाल साधारण जनतालाई अनिकाल, अभिषापकाल, पिडाकाल र दुःखकाल भएपनि भ्रष्टाचारी कर्मचारीलाई र विचौलियाहरूलाई अबसरकाल, भ्रष्टाचारकाल, फलिफापकाल, महाउत्सवकाल र ‘मालामाल’ भएको छ। सम्वन्धित निकायको ध्यान जानेछ र जनताले सुख पाउनेछन् भन्ने अपेक्षारुपी सपना नेपालीले देखेपनि बिपनामा यस्तो परिवर्तन र सुधार हुन दसकौं लाग्ने कुराको सोझै अनुमान लगाउन सकिन्छ ।

– हेमा उपाध्याय, काठमाण्डौं ।

Advertisment