मुलुकको आर्थिक स्थिति सुधारोन्मुख

काठमाडौँ, माघ २४ गते । आर्थिक वर्षको आधा समय बित्दा अर्थतन्त्रका मुख्य सूचक सुधारोन्मुख देखिन थालेका छन् ।

नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको आर्थिक स्थितिसम्बन्धी प्रतिवेदनले विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र कुल विदेशी विनिमय सञ्चितिमा सुधार आएको देखाएको हो ।

विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि

यस वर्षको असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ रहेको कुुल विदेशी विनिमय सञ्चिति छ महिनामा १० प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब २९ करोड रुपियाँ पुगेको छ ।

विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपियाँ बराबरको रहेको थियो । यसको तुलनामा पुस मसान्तमा ६ दशमलव ३ प्रतिशत वृद्धि भएको छ ।

अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति छ महिनाको अवधिमा ८ प्रतिशतले बढेर १० अर्ब ३० करोड कायम रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्राको सञ्चिति दबाबमा रहेपछि नेपाल राष्ट्र बैङ्कले आयातमा नगद मार्जिन लगाउने र ब्याजदर बढाउने गरी नीति लिएको थियो । यसकै फलस्वरूप असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकामा पुस मसान्तसम्ममा ७६ करोडले बढेको हो ।

साढे दस महिनाको वस्तु आयात धान्न पर्याप्त

चालू आर्थिक वर्षको छ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव चार महिनाको वस्तु आयात र नौ दशमलव १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

चालू खाता घाटामा सुधार

समीक्षा अवधिमा चालू खाता घाटाको स्थितिमा उल्लेख्य सुधार आएको छ । मङ्सिर मसान्तसम्ममा ३७ अर्ब ९१ करोड रुपियाँले घाटामा रहेको चालू खाता पुस मसान्तमा घटेर २९ अर्ब ४७ करोड रुपियाँमा झरेको हो । एक महिनाको अवधिमा करिब साढे आठ अर्ब रुपियाँले चालू खाता घाटामा सुधार आएको हो ।

चालू खाता घाटा अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको पुस मसान्तसम्ममा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

शोधनान्तर स्थिति

चालू आर्थिक वर्षको छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपियाँले बचतमा रहेको छ । यो मङ्सर मसान्तमा ४५ अर्ब ८७ करोड रुपियाँ मात्रै बचतमा थियो । एक महिनाकै अवधिमा शोधनान्तर स्थिति ५२ अर्ब रुपियाँले बचत बढेको छ ।

अघिल्लो वर्षको पुस मसान्तमा शोधनान्तर स्थिति २९ अर्ब ४७ करोड रुपियाँले घाटा थियो ।

विप्रेषण आप्रवाह २४ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २४ दशमलव ३० प्रतिशतले वृद्धि भई पाँच खर्ब ८५ अर्ब आठ करोड रुपियाँ पुगेको छ । मङ्सिर मसान्तमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेर चार खर्ब ८० अर्ब ५० करोड रुपियाँ थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ९० प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ ।

दुई खर्ब नगद मौज्दात

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैङ्कमा रहेको सरकारका विभिन्न खातामा एक खर्ब ९९ अर्ब १५ करोड रुपियाँ नगद मौज्दात रहेको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म नगद मौज्दात दुई खर्ब ३२ अर्ब ५३ करोड रुपियाँ रहेको थियो ।

वैदेशिक व्यापारमा गिरावट

चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल वस्तु निर्यात ३२ प्रतिशतले कमी आई ८० अर्ब ८१ करोड रुपियाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा निर्यात ९५ दशमलव ५० प्रतिशतले बढेको थियो । यो अवधिमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुनचाँदीका गहनाका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात २० दशमलव ७० प्रतिशतले कमी आई सात खर्ब ९२ करोड ६७ करोड रुपियाँको आयात भएको छ ।

मुद्रास्फीति बढ्यो

पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५ दशमलव ६५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ५७ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८ दशमलव ८४ प्रतिशतले बढेको छ । source: https://gorkhapatraonline.com/

Advertisment